बालबालिका सशक्तीकरण अभियान प्रभावकारी बनाइने

दैलेख : दैलेखको नारायण र आठवीस नगरपालिकामा बालबालिका सशक्तीकरण अभियानलाई प्रभावकारी बनाइने भएको छ । स्थानीय सरकारहरूले बालबालिकाको समग्र विकास, अधिकार रक्षा लगायतका विषयहरूमा कम चासो दिएका बेलामा एभरेष्ट क्लबमार्फत सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत यस्तो अभियानको थालनी गरिने भएको हो ।
एभरेष्ट क्लब दैलेख अन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका तीन वटा परियोजनाको परिचयात्मक कार्यक्रममा यस्तो बताइएको हो ।
नारायण र आठविस नगरपालिकामा सञ्चालन हुँदै आएका पावर परियोजना, पहुँच परियोजना र नागरिक समाज संस्था सबलीकरण परियोजनाले विगतका वर्षमा गरेका कामहरू र आगामी वर्षमा गर्ने कामका बारेमा जानकारी गराइएको हो ।
नागरिक समाज संस्था सबलीकरण परियोजनाका संयोजक सिता नेपालीले परियोजनाले आगामी वर्षमा सञ्चालन हुने कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै परियोजनाको लक्ष बलियो समाज निर्माण गर्ने रहेको बताइन् । सबलीकरण परियोजनाले जलवायुका क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा यस्ता कार्यहरूलाई निरन्तरता दिने जनाइएको छ ।
संयोजक नेपालीले आगामी वर्ष बालबालिकाको क्षमता विकास तर्फ अझै प्रभावकारी काम गर्ने बताइन् । ‘हामीले यस अघिको समयमा बालबालिकाको क्षमता विकास, बाल अधिकार, उनीहरूको क्षमता विश्लेषण लगायतका काम गरेका छौँ’, स्थानीय सरकार र सम्बन्धित निकायहरूले बालबालिकाको क्षमता विकासका लागि बजेट विनियोजन गरी काम गर्नुपर्ने उनको सुझाव छ ।
२०२६ सम्म दुई वटा स्थानीय तहमा सञ्चालन हुने परियोजनाले आगामी वर्ष बालबालिकाका सावाल पहिचान गर्ने, समाधानका उपायहरूको खोजी गर्ने बताएकी छन् ।
पावर परियोजनाका संयोजक भूपालसिंह बोहराले २०२३ मा जिल्लामा असमान र विभेदबाट पीडित किशोर किशोरी र युवाहरूका विषमा काम गर्ने जनाए । परियोजनाले २०२६ सम्म यहाँका नारायण र दुल्लु गरी २ वटा स्थानीय तहमा सञ्चालन भइरहेको किशोर किशोरीका विषयमा चार वटा उपलब्धि हासिल गर्ने लक्ष्य राखेको बताएका छन् । अघिल्लो वर्षमा परियोजनाले विभिन्न जीवन उपयोगी कार्यका साथै विद्यालय क्षेत्रमा काम गर्दै आएको संयोजक बोहराले बताए ।
२०२१ देखि २०२२ सम्म भएका मुख्य उपलब्धि सार्वजनिक गर्दै बोहराले ४० जना युवाहरुलाई लघु उद्यम तालिम र ४० जनालाई सिप विकास तालिम गरी ८० जना युवाहरूलाई तालिम प्रदान गरिएको र तालिम पश्चात् अहिले ७४ जना विभिन्न प्रकारका व्यवसायमा रहेको जानकारी दिँदै ३८ जना युवाहरूले मासिक १५ हजार बढी मासिक आम्दानी गर्दै आएको जनाए ।
परियोजनाले गरिब तथा असहाय बालबालिकाको पढाइमा सहजता ल्याउनका लागि विभिन्न सहयोग गर्दै आएको बताए । नारायण नगरपालिका र परियोजनाको साझेदारीमा सेनेटरि प्याड उत्पादन कार्य अघि बढाइएको र हाल प्याड उत्पादन भइरहेको एभरेष्ट क्लब दैलेखले जनाएको छ । परियोजनाले दुल्लु र नारायण नगरपालिकामा २०२३ मा विभिन्न किशोर किशोरी मैत्री कार्य लघु उद्यम तालिम, लगायतका जनमुखी कार्य गर्ने लक्ष्य राखेको बताए । परियोजनाले सामाजिक सुरक्षा भत्ताको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई सचेत गराउँदै आएको परियोजना संयोजक तेजेन्द्र चन्दले बताए । बालपोषण, बालबालिकाको जन्म दर्ता भए÷नभएको विषयमा आम नागरिकलाई सचेत गराउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार